पर्यटक लोभ्याउँदै बेथानचोक (तस्वीरसहित)

पर्यटक लोभ्याउँदै बेथानचोक (तस्वीरसहित)

नारायनस्थानमा हिउँ खेल्न, सूर्योदय र सूर्यास्तको दृश्य हेर्न राजधानी काठमाडौंदेखि पर्यटक आउने गर्छन् । उत्तरतिर सगरमाथा, धौलागिरि, गणेश हिमालको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ भने दक्षिणतिर पहाडका चुचुराहरू हुँदै तराईका फाँटले जोकोहीको मन तान्न सक्छ।

अटन शब्दमा परी उपसर्ग लागेर बनेको पर्यटनको शाब्दिक अर्थ चारैतिर घुम्नु हो । व्यापक अर्थमा मनोरञ्जनका साथै ऐतिहासिक, अध्ययन/अनुसन्धानका लागि गरिने भ्रमण नै पर्यटन हो।

संघीय राजधानी काठमाडौंबाट करिब ४५ किलोमिटरमात्रै टाढा छ रमणीय गाउँ बेथानचोक। नेपालका पर्यटकीय स्थलहरूमध्ये महाभारत शृंखलास्थित काभ्रेको बेथानचोक पनि पनि एक हो। यहाँ धेरै पर्यटकीय र धार्मिक स्थलहरू छन्।

चक्रेश्वर महादेव, क्षेत्रपाल महाँकाल, बाघभैरव, मुक्तेश्वर महादेव, श्रीकृष्ण प्रणामी मन्दिर, वैष्णव मन्दिर, महाँकालस्थान, पार्वतेश्वर, देवीस्थान, कपेर महाँकाल, कालिदेवी मन्दिर यहाँका मुख्य धार्मिक स्थल हुन्। बेथानचोक नारायणस्थान र बागनेमा गुफा पनि यहाँको हेर्न लायक र पुग्नै पर्ने स्थान हुन्। त्यसैगरी चलाल गणेस्थानमा गुम्बा छ भने मूलडाँडामा निर्माण भइरहेको छ । गुम्बु डाँडामा भ्यू टावर बनिसकेको छ भने गोलेखाल्डोमा निर्माणाधीन छ।

A Girl with snow in her hand- Bethanchok -3 Dhunkharka Kavre Nepal - पर्यटक लोभ्याउँदै बेथानचोक

च्याम्राबेंसी आन्तरिक तथा बाह्य पयर्टनका लागि महत्वपूर्ण क्षेत्र हो। यो ठाउँ काभ्रेको सबैभन्दा बढी झरना भएको क्षेत्रका रूपमा परिचित छ। च्याम्राबेंसीका फाँटहरूमा लगाएको कफीले अझै सुन्दरता थपेको छ। नमोबुद्ध, नारायणस्थान, च्याम्राबेंसी, फाँपरबारी हुँदै हेटौंडासम्म पुग्ने पदमार्ग परिकल्पना गरिएको छ।

 

तराईदेखि पहाडसम्म लामो पदयात्रा गर्न बीचको क्षेत्र मानिने कामीडाँडाले पछिल्लो समय चिया बगानको परिचय बनाउँदै गएको छ।

सशस्त्र द्वन्द्वका बेला माओवादी केन्द्रीय समिति बैठक बसेको कामीडाँडालाई राजनीतिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने सम्भावना छ। माओवादी सेनाको तेस्रो डिभिजनका लागि यस स्थानलाई प्रस्ताव गरिएको थियो। यस स्थानको ऐतिहासिक महत्व पनि छ। गोर्खाली सेनाले अंग्रेजलाई लखेटेको स्थानका रूपमा यसको चर्चा छ।

3 people in top of the mountain- Bethanchok -3 Dhunkharka Kavre Nepal

काभ्रेको सबैभन्दा उचाइमा रहेको ३०१८ मिटर अग्लो बेथानचोक नारायणस्थानलाई महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ। च्याम्राङबेंसी, ढुंखर्क, चलाल गणेशस्थान, च्याल्टी र महाँकाल चौर मिलेर बनेको बेथानचोक गाउँपालिकाको नाम लिएको छ। नारायनस्थानमा हिँउ खेल्न, सूर्योदय र सूर्यास्तको दृश्य हेर्न संघीय राजधानी काठमाडौंदेखि पर्यटक आउने गर्छन्। उत्तरतिर सगरमाथा, धौलागिरिलगायत गणेश हिमालको आकर्षण दृश्य यहाँबाट सहजै अवलोकन गर्न सकिन्छ।

 

दक्षिणतिर पहाडका चुचुराहरू हुँदै तराईका फाँटहरूले जो कोहीको पनि मन लोभ्याउँछ। यहाँबाट जनकपुरदेखि भारतका केही सहरसमेत देख्न सकिन्छ। नेपालको राष्ट्रिय चरा डाँफे र राष्ट्रिय फूल लालीगुराँस र सेतो गुराँस पनि यहाँ पाइन्छ । उच्च ठाउँ भएकाले बन्जी जम्पिङको पनि सम्भावना छ। महाभारत युद्धताका पाण्डवहरूले यहाँको गुफामा हतियार लुकाउन प्रयोग गरेका थिए भन्ने किंवदन्ती सुन्न पाइन्छ । होली पूर्णिमा, जनै पूर्णिमा र नयाँ वर्षको अवसरमा मेला लाग्छ।

अर्को किंवदन्तीअनुसार भूपतेन्द्र राजाका पालामा भगवान नाराययणलाई भक्तपुर चाँगुनारायणमा बस्ने इच्छा नभएपछि ढुंखर्कको नारायनटारमा गएछन्। त्यहाँ पनि चाँगुनारायणको जस्तै ढिक्की, जाँतोको आवाज र कुखुरा कराएको सुनेपछि नारायण भगवान दक्षिण शृंखलाको सबैभन्दा उच्च स्थानमा विराजमान हुनुभएछ। भक्तपुरमा त्यसपछि रोग व्याधीले सताउने र अनिष्ट हुन लागेछ।

एक रात राजालाई सपनामा भगवान नारायणले यस अवस्थाबाट मुक्ति पाउने उपाय सुझाएछन्। त्यसैअनुरूप उनी दर्शनका लागि घोडा चढेर त्यहाँसम्म पुगेको भन्ने भनाइ छ। शृंखलाको केही तल चौरमा घोडा बाँधेर उभो लागेछन्। त्यस ठाउँलाई आज पनि घोडाबाधें चौर भनिन्छ। उनी तिमिल्सिना थरका आठपरियाको सहयोगमा उच्च शिखरमा पुगेर भगवान नारायणको पूजाआजा गरी फर्केछन्। त्यसपछि भक्तपुरमा अनिष्ट हुन रोकिएछ। आज पनि बेथानचोक नारायणस्थानमा गएर मागेको कुरा पूरा हुन्छ भन्ने विश्वास छ । यस ठाउँमा बलि चढाउन, माछा मासु, जाँडरक्सी लैजान र खान वर्जित छ।

बेथानचोकको वास्तविक पुँजी भनेकै प्रकृति हो । वरिपरि महाभारत शृंखलाले घेरिएको माथितिर हरियो जंगल छ भने, तल खेतीयोग्य जमिन र सेता जस्ताले छाइएका घरहरू देखिन्छन्।

त्यसैले, तलको समथर जमिनले सानो उपत्यकाको भान गराउँछ। समथर जमिनको बीचतिरबाट कलकल बगेको खोलाले सबैको मन लोभ्याउँछ। यहाँ उत्पादन हुने तरकारी, जडिबुटी र दूध आम्दानीका स्रोत हुन्। यहाँ जाने पर्यटकहरू खुवाको स्वाद लिएरमात्रै फर्कने गर्छन्। चिसो ठाउँ भएकाले अन्नबाली पनि स्वादिला हुन्छन्। घट्टमा पिँधेको मकैको ढिंडो र रायोको सागले नलोभिने पर्यटक कमै हुन्छन्।

बेथानचोकमा दुर्लभ जीवजन्तु पनि त्यत्तिकै पाइन्छन्। केही समयअघि बेथानचोक– २ को महाभारत जंगलमा सेतो मृग भेटिएको थियो। हाल त्यस मृगलाई जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ।

 

यहाँ केही होमस्टे सञ्चालनमा आएका छन् । अझै होमस्टे र सुविधाजनक होटल सञ्चालन गर्न सके पर्यटकको आवागमन बढ्छ । साना सवारी साधन र घोडचढीको सुविधा भएमा अग्ला भ्युटावर र धार्मिक स्थलमा पुग्न सजिलो हुन्छ। यसले साना बालबालिका र बूढाबूढीलाई पनि सहज बनाउँछ।

 

पर्यटक लोभ्याउँदै बेथानचोक

व्राह्मण, तामाङ नेवारको बहुल बेथानचोकमा संस्कृति पनि फरकफरक किसिमको छ। पर्यटकलाई यी फरक संस्कृति र चालचलनबारे देखाउन र बुझाउन सकिएको छैन। स्थानीय कला, संस्कृति, हस्तकला, लोकगीत, संगीतको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्न सके आम्दानी गर्न सकिन्छ।

पर्यटक लोभ्याउँदै बेथानचोक

बेथानचोकका धार्मिक तथा पर्यकीय स्थलहरू प्रचारपसारको कमीले ओझेलमा परेका छन्। भिडियो तथा डकुमेन्ट्री, र सामाजिक सञ्जालबाट यहाँका पर्यटकीय र धार्मिक स्थलहरूको प्रचार गर्न ढिला भइसकेको छ। बेथानचोकलाई लुम्बिनी, मुस्ताङजस्तै नेपालको पर्यटकीय स्थानमा दर्ज गर्नु आजको आवश्यकता हो।

पर्यटक लोभ्याउँदै बेथानचोक

यस क्षेत्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धनकालीन पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जरुरी छ। यसो भएको खण्डमा स्थानीय युवा श्रमकै लागि विदेसिनु पर्ने बाध्यता पनि हट्ने छ। अनिमात्र बेथानचोकवासी सुखी र यो क्षेत्र समृद्ध बन्ने छ।

Source: https://www.khulanepal.com/2021/06/26/34395/

You May Also Like

More News/Events