गजराम पर्वतको यात्रा

गजराम पर्वतको यात्रा

महाभारत पर्वत श्रृङखलाहरू प्राय सबै प्राकृतिक दृश्य अवलोकन गर्नका लागि अति उपयुक्त पर्वत श्रृङखलामा पर्दा रहेछन्।

महाभारत पर्वत श्रृङखलासँग जोडिएपनि हरेक पहाडहरू हेर्दा सुन्दर,चड्न सजिला र एकदुई रातको फायर क्याप गर्न सकिने भएको। यस्ता ठाँउहरूलाई स्थानीय,प्रदेश र संघिय सरकारले पर्यटन पद मार्गहरू र क्याप फायर स्थल बनाउन सक्यो भने आन्तरिक तथा बाह्य पर्यटन फस्टाउने देखिन्छ।

हाम्रो प्रकृतिक दृश्यावलोकनको क्रममा हामी मिति २०७८/०७/२१ देखि २०७८/०७/२३ सम्म काभ्र जिल्लामा पर्ने बेथानचोक गाउँ पालिमाको महाभारत होमस्टेतिर र त्यसबाट नजिक पर्ने पर्वततिर रह्यो।तीनदिनको समयमा हामीले नजिकै रहेको अल्पाईन पर्वत श्रृखलाको समुहभित्रको गजराम पर्वतसम्मको पदयात्रा सजिलोसँग पूरा गर्यो।

गजराम पर्वतको अर्थ गज भनेको हात्ती राम भन्नाले राजा राम इश्वरीयरूपमा विष्णुको अवतारको रूपमा मान्ने कुरा पनि थाहा पाइयो। गजराम पर्वत समुद्र सतहबाट ३००० मिटर उचाईमा रहेको नयाँ पदयात्रा मार्ग रहेछ। यो पर्वत काम्रे जिल्लाको दक्षिणपट्टि रहेको महाभारत पर्वत श्रृङखला अन्तर्गत रहेका पर्वतहरू मध्येको एउटा पर्वत रहेछ। यसको नजिकै अर्को निकै सुन्दर पर्वत रक्क र ढुङ्गाको पर्वतको नामले चिनिने पर्वत रहेछ। त्यो अर्को क्याप बनाउन सकिने सुन्दर स्थल रहेछ।

हिड्दै जादा काभ्रेको बेथानचोक गाँउपालिका र बागमती प्रदेशले गजराम पर्वतलाई पर्यटकीय रूपमा विकास गर्न बाटो लगायत केही सुधारका कार्य गरिरहेको भेटियो। गजराम पर्वतलाई पर्यटकसँग चिनाउने काम विशेष रूपमा महाभारत होमस्टेले गरिरहेको रहेछ। महाभारत होमस्टेको भाइ कमल नेपालको प्रयत्नले नै म र रवि गजरामको टुप्पोमा पुग्न सफल भयौं। कमलले सञ्चालन गरेको होमस्टे पनि बेथानचोक गाउँ पालिकामा पर्दछन्।अहिले नेपालमा होमस्टे ब्यवसाय निकै बढ्दो छ। खासगरी होमस्टेको ब्यवसाय पर्यटनसँग जोडिन्छ। घुम्न जाने सबै ठाउँमा होटल हुदैनन्। भए पनि निकै महँगा हुन्छन्। महँगा होटलले व्यक्तिलाई मात्रै फाइदा हुन्छ। होमस्टेले गाउँको उथानमा र गाउँलेको आन्तरिक अर्थोपार्जनमा फाइदा पुग्छ। थोरै बहुत मित्रता र संस्कृतिको आदानप्रदान पनि हुने गर्छ।

एक दुइदिनको हिडाइ,पारिवारिक भावको मायामा एक्लै वा साथीभाइको सानो समुहमा रमाउन या हराउन होमस्टे उत्तम विकल्प हो। त्यहि कारण नेपालमा सञ्चालन भइरहेका होमस्टेहरूले पर्यटकको आँखा तानिरहेका छन्। सास्कृतिक आदान प्रदानले पर्यटन व्यवसायलाई निकै फाइदा पुर्याउछ।

बेथानचोक गाउँ पालिकाको विकाससगँ महाभारत होमस्टे जोडिएको छ भने महाभारत होमस्टे बेथानचोकको विकाससँग जोडिएको छ। बेथानचोक र महाभारत होमस्टेको विकाससँग गजराम पर्वतको पदयात्रा मार्ग बनाउन अति आवश्यक देखिन्छ।

नेपाली समाजको अहिलेको संरचनाभित्रको घरपरिवार सजिलै पुस्तातरण हुनसकिरहेको अवस्था छैन। धेरै लगानी गरेर छोराछोरी पढाउने आफ्नो नियमित कामसगँ छोराछोरीलाई नजोड्ने कुराले पढेलेखेको पुस्ताले काम नपाउनेर विदेशीनु पर्ने या गाँउ छोड्नै पर्नेर गाउँमै बसे कुलतमा फस्ने डर छ।

अन्य स्थानीय र राष्ट्रिय रोजगारी सृजना हुने सम्भावना नभएको यो अवस्थामा आफ्नै छोराछोरी आफ्नै परिवाराको बोझ बन्न थालेको छ। बेला बेथानचोकका युवाहरूले आफ्नो प्रयत्नमा दुइ बर्षदेखि होमस्टे सञ्चालनमा ल्याएका रहेछन्। ढुङ्गखर्कको बजारमा रहेको ग्लोबल आइएमवी बैंक अगाडि कमल नेपाल भाइ हामीलाई लिन आइपुगे। उनी सगैं हामी महाभारत होमस्टेमा पुगियौं। होमस्टेमा कमल नेपालका पिता गोपाल नेपाल र आमा गोपीनी नेपाल हाम्रो सत्कारमा तयार हुनुहुदो रहेछ। भेटमा पाहुनालाई माला लगाइदिएर स्वागत गर्ने प्रचलन रहेछ। हामीलाई पनि त्यस्तै गरि आतिथ्यता गराउनु भयो।

एकछिनको विश्राम र खाजा पछि हामी स्थानी बासिन्दासगँ भेटघाटतिर लाग्यौं। झडैं बिसवटा जति घरपरिवारसगँको भेटघाटको क्रममा हामी १०४ वर्षिय झांक्री ( पुर्ण बहादुर फुयालको घरमा पुग्यौ। उहाँ आरामले बसेर सेलरोटी चपाइ रहनु भएको थियो। उहाँसगँको भेटमा उहाँको सन्चोविसन्चो सोध खोजपछि एकछिन सुखदुःखका कुरा भए। उहाँ अझै बनझाँक्री खेलाउनु हुन्छ। १ गाउँमा कोही विरामी परेर बनझाँक्री र मशानले दुख दियो भने झाँक्री बसेर नै उपचार गर्दै हुनहुन्छ रे।

विश्वास विरामीको हो,मैले उपचार गर्न आउनेलाई उपचार गरिदिने हो। ठूलो विरामी भए अस्पताल गई हाल्छन १ झाँक्री बाका अनुभव सुनिरहुँ लाग्ने थिए। तर, हाम्रो गन्तव्य अन्यत्र पनि भएको र साँझ पर्न लागेकोले झाँक्री बासगँ तस्बिर खिचेर हामी त्यहाँबाट उकालो लाग्यौं। बेलुका गोपीनी दिदीले पकाएको खाना गोपाल भाइले दोहेको भैंसीको दुधसगँ घरका केटाकेटी कुशल र जेनिससगँ रमाउदै खाना खाइयो। खानासकेपछि गाउँको विकासको विषयमा भलाकुसारी गरियो। विभिन्न विषय मध्येको योगर ध्यानको विषयमा विशेष कुराकानी चल्यो। साँझ छिपिएकोले गोमा बहिनीले विस्तारा मिलाएर सुत्ने सुचना गरिन् र सबै विस्तारातिर लाग्यौं।

दोस्रो दिन विहान उढेर तातोपानी चिया पिउदै हल्का नास्ता ( सेलचिया) खाएपछि फेरि हामीले केही घर घुम्नै पर्ने भयो । कमल भाई,म र रवि पुनः भौतनरिदै ०५(१० घर हेर्दै हिड्यौं।दुइघण्टाजति घुमेर होमस्टे फर्कियौं र खाना खायौं। खानापछि हाम्रो पदयात्रा गजराम पर्वततिर रह्यो। पदयात्राको क्रममा अर्को भाइ पनि हामीसगँ जोडिए।उनको नाम नमोबुद्ध सिंतान थियो । उनले हामीलाई गजराम पर्वतको यात्रामा सहयोग गर्न सगै जाने कुरा भयो।

पनौतीबाट १२ किलोमिटर दक्षिणमा रहेको माउन्टेन महाभारत होमस्टेबाट म,रवि अर्याल (चलचित्र निर्देशक मेरो साथी )र बुद्ध सिंतान भाइ बेलुकाको आफ्नो खाने र बस्ने ब्यवस्था सहित ठिक १ बजे पैदलमार्गबाट उकालो लाग्यौं । हाम्रो साथमा एकछिन कमलको ठूलो छोरा कुशल नेपाल पनि साथै गए।उनी जङ्गलको मुखबाट गाई जङ्गलतिर छोडेर हामीसँगै जान नपाएकोमा मन खिन्न बनाउदै फर्के।

त्यसपछिको यात्रामा हामी तीन मात्रै भयौं। बुद्ध भाइ स्थानीय भएको र होमस्टेमा आउने पर्यटकलाई डाँडाको पैदलयात्रा गराइरहने भएकोले यात्रामा त्यति गाह्रो भएन। हामी दुई अलि विकासे शहरीया भएकोले बेलाबेला आराम गर्दै उकालो उक्लिरह्यौं । साथमा बोकेको एक लिटर पानी दुईचार गेडा सुन्तला,स्याउ र मोसम पनि बाटोमै सकियो । जति उचाइतिर लाग्यो त्यति नै खलखली पसिना र स्वाँ स्वाँ बढ्थ्यो। तर, थकान भने पटकै भएन।गाउँ छोडेपछि लगभग तीन घण्टा हरियो जङ्गलको बाटो, गाई बाख्रा चरिरहेका, सेउला र पतकर लिन गाउँलेहरू प्रसस्तै भेटिएको कारण यात्रा एकान्त र निरजन लागेन।

स्थानीयलाई गजराम पर्वतको टुप्पोमा पुग्न एक घण्टा र आधा ( डेड घण्टा लाग्ने ) लाग्ने रहेछ। हामी ठिक साडे तीन घण्टामा गजराम पर्वतको टुप्पोमा पुग्यौं।टुप्पोमा पुगेपछि रवि र म अति थाकेको कारण एकछिन ढुङ्गामा पल्टियौं। हिमालयको सुन्दर दृश्यहरूले खास सुत्न मन लागेन।एकछिन थकाइ मार्दै हामी तीनैजनाले बोकेर लगेको पप र बदामको फाँको मार्यौं। खाने कुराले भोक मेटिएपछि बुद्ध भाइ टेन्टको ब्यवस्थापन,साँझको खाने प्रवन्ध र रातिको लागि दाउराको प्रबन्धतिर लागे। हामी चै सुन्दर दृश्यको अवलोकन र तस्बिर खिच्नतिर फुल्यौं।

हामी यताउता बरालिँदा बरालिदै साँझ पर्यो।कमल भाईले गहुँको रोटी लिएर आउदै गरेको जानकारी गराए । बुद्ध भाईले आगो बाले र पानी तताए। रवि र म पानी पिएर टेन्टतिर छिर्यौं।कमल भाइ हामी पुगेको चार घण्टापछि साडेसातमा हामी भएको ठाउँमा पुगे। कमल पुगेपछि हामीले चाउचाउ उमालेर खायौं। उकालो मज्जाले हिडेकोले होला भोक मरेन। नि आगो ताप्दै खुवा र रोटी खुब मज्जाल चपाएर तातोपानीसगँ निलियो।

कमल रोटी खाइसकेपछि तीन घण्टाजति ध्यानमा निस्किएँ।रवि,र बुद्ध भाइ आगोको तातोमा रमाएर बसे।आगोको मज्जामा निद्रामा घुर्न विषयले प्रवेश गर्यो । त्यहि प्रसङ्गमा रविले को को घुर्छ रु घुर्न पाइन्न है भन्ने प्रस्ताव राखेका थिए।प्रायः म चाडैं सुत्न पर्ने भएकोले नौ तीसतिर टेन्टतिर छिरिहाले र सुतें।

म निद्रामा हल्का घुर्छु भन्ने मलाई थाहा थियो। म निदाउन लाग्यो कि घुर आइ हादो रहेछ। रविले आवाज दिएर उठाइ हाल्ने कारण म निकैबेर सुत्न पाइन।केही समयपछि उठाउन छोडेछन् । उठाउन छोडेपछि बाघ कराए झै घुरघुर गर्दै म त मस्त सुतें।

रातको बाह्र बजेतिर कमलभाइ ध्यानबाट फर्केछन् र बाँकी तीन जना सुत्न प्रयत्न गरेछन्।निदाउन लाग्यो कि घुरघुरले सुत्न नसक्ने,घुर्ने बानी सबैको रहेछ। एउटाले अर्कोलाई नघुर भन्दाभन्दै कोही सुत्न सकेन। उनीहरू तीनैजना फेरि आगोको धुनी जगाउनतिर लागे, म चाहिँ मस्ताराम।लगभग तीन बजेसम्म आगो तापेर क्यापको टेन्टमा छिरेका कमल र रवि त्यसपछि निदाएछन्। म प्राय :चार, साडे चारतिर ब्युझिँसक्ने भएकोले त्यहीँ समयमा ब्युँझिएँ र बाहिर निस्किएँ। निकै चिसो,पानी तपतप झरिरहेकोले धेरैवेर बाहिर बस्ने स्थिति थिएन । शौचालय नभएको कारण बाहिर यसो कोल्टो परेको ठाउँ हेरेर पिसाब फेरें र आएर ओछ्यान मै एक घण्टाजति बिताएँ । लगभग छ बजेपछि बाहिर अनौठो सुन्दरता देखियो र जुरूक उठेर बाहिर निस्किएँ।पर्वतको पुर्वतिरको क्षितिजको अन्धकारबाट ठलपल ठलपल गर्दै उज्यालोको किनार बढ्दै गयो। विस्तारै पुरै रेखिजस्तो सरल रेखा बन्यो । त्यो सरल रेखाको दृश्य देखेपछि मैले सबैलाई बाहिरैबाटै कराएर सुर्योदय हेर्ने उठाएँ।

विस्तारै रातो घेरामा पहेँलो र उज्यालो घेरा पनि थपिदै गयो।कालो चुच्चो जस्तो देखिने पश्चिम उतर दिशामा रहेका हिमालय पर्वतको श्रृङखलाका हिमालहरू विस्तारै सुनौलो रङ्गमा परिणत हुन थाले। सुर्यले आफ्नो गतिलाई कसैले रोक्ने सक्दैन थियो।समय भएपछि विस्तारै सुर्य प्रकृतिको गर्भबाट टलपलउदै निस्कियो। सुर्योदय भएको देखेर खुसीले सुर्योदय हेर्न गएका सबै मानिसहरू कराए।एकछिन एकान्त पर्वत मानव ध्वनिले चलायमान बन्यो।विस्तारै मानिसहरूको आवाज सुन्यतातिर गयो।सुर्योदयको सुन्दरताले हाम्रो साथ छोडिदियो।

सुर्योदय सकिने वितिकै मैले तातोपानी पिउने विचार गरें र भित्र छिरें।राती उठिरहनु पर्ने डरले पानी खान डराएकी मैले खास अन्य खानेकुरा खाइन। त्यसैले होला उठ्दाउठ्दै भोक लागेकोले थियो। भोक मार्न पानी तताएको खाएँ। उभ्रेको बाँकी तातोपानीमा बाँकी चाउचाउ हालेर आगोको छेउमा राखें।दुई गिलास पानी पिएर हामी सबैले चाउचाउ खायौं। चाउचाउ खन्याएर मैले खुवा तताएँ । रोटी सेकाएर तातो खुवा तलेर एकएक ओटा रोटी पनि खायौं। खाइसकेपछि एकदुई तस्बिर खिच्यौं र हामी विस्तारै विस्तारै फर्कियौं।

राति मज्जाले तुसारो परेको कारण सानो फिरालो बाटो निकै खतरापूर्ण देखियो।तुसारोमा हिड्न जानिएन भने लडिन्छ भन्ने सुनेकोले सबैलाई होसियार गराउदै हिड्दै थिएँ। म त सुलुतै चिप्लिएँ।धन्न भिरालो थिएन र बचें।

हाम्रो पैदययात्रा विस्तारै थियो।बाटोमा पर्ने रूख बिरुवा मध्ये म सुनाखरी र बुक्की फुलको सौखिन थिएँ। बेलाबेला रूखविरूवा र ढुङ्गा तिर लम्कन्थे र म अलि पछाडि पर्थे। महाभारत पर्वत श्रृङखला र हिमालय पर्वतविचको पुरानो साइनोको बारेमा पनि हामीविच चर्चा चल्यो। पौराणिक कालमा कुनै पर्वतराजले आफ्नी जेठी छोरी हिमालयसगँ र कान्छी छोरी भहाभारत पर्वतसँग विवाह गरिदिएको रहेछ। त्यसै कारण हिमालयमा हिउँ सेताम्ये हुदा जेठी दिदीले कान्छी बहिनीलाई पछ्यौरी पठाएर हिउँको मज्जा लिन लगाउथिन । १ त्यसै कारण उतरपट्टीका हिमालमा हिउँ पर्ने वितिकै दक्षिणको गजराम पर्वत पनि सेतै हुने कारण कान्छी हिमाल पनि भन्ने चलन रहेछ । भन्ने कुराको चर्चा चल्यो । फर्कदा ओरालो बाटो भएपनि हामीलाई साडे दुई घण्टा लाग्यो ।फर्केपछि महाभारत होमस्टेमा मीठो भोजन गरेर हामी काठमाडौ फर्कियौं। न्यानो पारिवारिक माया र नजिक तर रमाइलो पदयात्रा गर्न, पाएकोमा बेथानचोकको महाभारत होमस्टेलाई धन्यवाद दिन चाहान्छु।

-सीता ओझा

Source: https://www.enepalese.com/2021/11/333678.html

You May Also Like

More News/Events